भरतपुरमा डेङ्गी नियन्त्रण अभियानको थालनी, लामखुट्टे लार्भा खोज र नष्ट अभियान सुरु
भरतपुर महानगरपालिकामा डेङ्गी रोग नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम तथा लामखुट्टे लार्भा खोज र नष्ट अभियान सुरु गरिएको छ। बुधबार एक औपचारिक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहालले अभियानको उद्घाटन गर्नुभयो।
यस अभियानको पहिलो दिन पुलचोकदेखि पोखरा बसपार्कसम्म सचेतनामूलक -याली निकालिएको थियो। ¥यालीमा सामाजिक संघ–संस्था, स्वास्थ्यकर्मी, अभियान्त र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले जनतालाई डेङ्गी रोगको जोखिम, रोकथामका उपाय र स्वच्छताप्रति सचेत गराउँदै पर्चा वितरण गरे र ‘डेङ्गी नियन्त्रण, स्वच्छ शहर’ भन्ने नारासहितको जनचेतनामूलक सन्देश प्रवाह गरे।
महानगर प्रमुख रेनु दाहालले उद्घाटन कार्यक्रममा बोल्दै, डेङ्गी रोगको जोखिमलाई न्यूनिकरण गर्न सामूहिक प्रयास अपरिहार्य छ भन्नेमा जोड दिनुभयो। उहाँले भनिन्,
“डेङ्गी नियन्त्रण केवल सरकारको जिम्मेवारी होइन, प्रत्येक नागरिकको दायित्व पनि हो। आफ्नो घर, आँगन र वरिपरिको क्षेत्र स्वच्छ राखेर हामी सबैले यो रोगलाई रोक्न सकिन्छ।”
अभियान अन्तर्गत महानगरपालिकाले लामखुट्टे प्रजनन हुने ठाउँहरूको पहिचान गर्दै लार्भा खोज र नष्ट गर्ने कार्यलाई निरन्तर अघि बढाउने योजना बनाएको छ। फोहर व्यवस्थापनमा सुधार, पोखरी वा ट्यांकीमा सफाइ, टायर, भाँडाकुडा र खुला पानी जम्ने स्थानहरूमा कीटनाशक छर्किने कार्य प्राथमिकतामा राखिएको छ।
महानगरपालिकाले डेङ्गी नियन्त्रणलाई दिगो बनाउन स्वास्थ्यकर्मी, विद्यार्थी र समाजसेवीहरूलाई समेत परिचालन गर्ने निर्णय गरेको छ। साथै, यो अभियानलाई लामो समयसम्म निरन्तर सञ्चालन गर्दै ‘स्वच्छ शहर, सुरक्षित नागरिक’ बनाउने महानगरको लक्ष्य रहेको छ।